दफा ६१क
मालवस्तुको वर्गीकरण उपर पुनरावलोकनको व्यवस्था
(१) भन्सार अधिकृतले दफा २२ बमोजिम गरेको मालवस्तुको वर्गीकरण उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो मालवस्तु जाँचपास भएको मितिले तीस दिनभित्र पुनरावलोकनको लागि महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन साथ त्यस्तो मालवस्तुको नमूना एवं आफ्नो निवेदनको व्यहोरा पुष्ट्याँइ हुने आवश्यक कागजात समेत पेश.गर्नु पर्नेछ ।

(३) यस दफा बमोजिम महानिर्देशकले मालवस्तुको वर्गीकरणको निर्णय उपर पुनरावलोकन गर्दा वा दफा २२ को उपदफा (७) बमोजिम हार्मोनाइज्ड वस्तु वर्गीकरण तथा संकेतीकरण प्रणाली, त्यस्तो प्रणालीको व्याख्या सम्बन्धी नियमहरू, व्याख्यात्मक टिप्पणीहरू, विश्व भन्सार संगठनद्वारा गरिएका वस्तु वर्गीकरण सम्बन्धी निर्णयहरू, विश्व भन्सार संगठनको हार्मोनाइज्ड सिष्टम कमिटिले दिएको रायहरूलाई आधार लिन सक्नेछ ।

(४) कुनै मालवस्तुको वर्गीकरणका सम्बन्धमा निर्णय लिनु अघि महानिर्देशकले विभागको वा अन्य सरकारी निकायको प्रयोगशालाबाट परीक्षण गराई सम्बन्धित विशेषज्ञको राय लिन वा कुनै मालवस्तुका सम्बन्धमा सम्बन्धित विशेषज्ञ वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय निकायको राय लिन सक्नेछ ।

(५) उपदफा (१) बमोजिम पर्न आएको निवेदनउपर महानिर्देशकले साठी दिनभित्र निर्णय दिई सक्नु पर्नेछ ।

तर अन्तर्राष्ट्रिय निकायसँग राय लिई निर्णय गर्नुपर्ने. अवस्थामा यस उपदफा बमोजिमको समय अवधि लागू हुने छैन ।